रामेछाप । दोलखाको कालिञ्चोक गाउँपालिका– ६ मा वृद्धभत्ता लुट्ने उद्देश्यले एक वृद्धाको हत्या भएको छ। कालिञ्चोक– ६ पाटागाउँकी ७५ वर्षीया पदमकुमारी सुनुवारको वृद्धभत्ताबापतको रकम लुट्ने उद्देश्यले खुकुरी हानी हत्या भएको प्रहरीले जनाएको छ।
दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काका अनुसार सोही गाउँपालिका वडा नम्बर ४ नर्मी घर भएका २३ वर्षीय विक्रम कार्कीले रकम लुट्नकै लागि वृद्धाको खुकुरी हानी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। यही साउन ९ गते राति मृतक वृद्धाकै घरमा वास बसेका कार्कीले राति खुकुरी प्रहार गरी हत्या गरेको डिएसपी खड्काले बताए।
साउन ११ गते पक्राउ परेका कार्कीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। हत्यापछि फरार रहेका उनलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।
वैदेशिक रोजगारीमा दुबई जान परीक्षा दिई काठमाडौंबाट घर फर्कने क्रममा ती युवक सुनुवारको घरमा वास बसेका थिए। वृद्धा कार्कीलाई भान्साकोठामा ओछ्यान लगाई आफू अर्कै कोठामा गएर सुतेकी थिइन्।
कार्कीले राति आफू सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Discussion about this post