रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाले बृद्धवृद्धा तथा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा संञ्चालन गरेको छ । गाउँपालिकामा नियमित यातायातका साधन नचल्दा जेष्ठ नागरिक र गर्भवती महिलाहरु बिरामी भई अस्पतालसम्म लैजान समस्या भई अकालमा नै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार गाउँपालिकामा राम्रो अस्पताल नहुँदा विरामीहरुलाई अहिले सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पताल र अन्य निजी अस्पतालको भर पर्नु पर्ने वाध्यता रहेको र गाउँमा बृद्धबृद्धा , बच्चा र गर्भवती महिलाहरूको स्वास्थ्य अवस्था उच्च जोखिममा रहने भएकोले पालिकाले उनीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा दिएको अध्यक्ष महतले बताउनु भयो ।
लिखु तामाकोशी गाउँपालिकामा १५ शैयाको अस्पताल निमार्णको लागि प्रदेश सरकारबाट आवश्यक वजेट प्राप्त भएता पनि हालसम्म गाउँपालिकामा जग्गा विवादका कारण अस्पतालको निमार्णमा ढिलाई भएसँगै गाउँका नागरिकहरुले सहज रुपमा गाउँमै स्वास्थ्य सेवा पाउन नसकेको लिखु तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोरी शाहले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार जग्गा विवादका कारण भवन निमार्णमा केही नागरिकहरुले सोही गाउँपालिकाको वडा नं ६ खिम्तीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैयाको अस्पताल निमार्ण हुनुपर्ने माग राखेका थिए ।अन्य धेरैजसो वडाका नागरिकहरुले भने गाउँपालिकाको केन्द्र रहेकै ठाउँमा आवश्यक जग्गाको व्यवस्थापन गरी अस्पताल निमार्ण गर्नुपर्नेमा जोड दिएका थिए । नागरिकहरुको खिचातानी र झै झगडाका कारण समयमा पालिकामा बन्नुपर्ने अस्पताल निमार्णमा ढिलाई भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शाहले बताउनु भयो ।
प्रमुख शाहाल भने– विवाद टुंगो लागेपछि गाउँपालिकाको केन्द्रमा नै अस्पताल भवन निमार्ण हुन लागेको छ । अब पालिकामा अस्पताल निमार्ण भएपछि धेरै खर्च गरेर अन्य टाढाका अस्पतालमा उपचारको लागि जानु नपर्ने गरी औषधी, चिकित्सक लगाएतको व्यवस्थापनको काम गरी सवै नागरिहरुलाई सेवा सहज ढंगले पुर्याउने गरी काम गर्ने योजना अघि सारेको पनि प्रमुख शाहले जानकारी दिनु भयो ।
Discussion about this post