रामेछाप । रामेछापको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख सुरेश दाहालले मदिरा पिएर कार्यालयमा होहल्ला गर्न थालेपछि स्थानीय जनप्रतिनिधिले उनलाई प्रहरीको जिम्मा लगाएका छन्।
दाहाल मदिराले लठ्ठ भएर राजनीतिक दलका नेता/कार्यकर्ता, सांसद, जनप्रतिनिधि लगायतलाई नामै तोकेर अपशब्द प्रयोग गरी गाली गरेको भीडीओ अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
उनी सोमबार बिहानै मादक पदार्थ सेवन गरी कार्यालयमा पुगेका थिए। त्यसपछि स्थानीयले वडा नम्बर ८ का अध्यक्ष सन्तोष तामाङलाई खबर गरेका थिए। उनले नै प्रहरी बोलाएर दाहाललाई जिम्मा लगाएका हुन।
दाहाललाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ। प्रहरीले उनको मेडिकल जाँच पनि गराएको जनाईएको छ।
वडाध्यक्ष तामाङका अनुसार, दाहाल कार्यालयले उपलब्ध गराएको सरकारी क्वाटरमा वसेर दैनिक रक्सी खाने अनि छतमा बसेर होहल्ला गर्ने गरेका छन्। दाहाल भू तथा जलाधार व्यवस्थापन कार्यालयमा प्रमुख भएर आएको लगभग दुई महिनामात्रै भयो।
यद्यपी, उनी कार्यकाल स्थापना हुँदा यहीँ कार्यरत थिए। रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी गत ५ असोज ०७८ मा यो कार्यालयको स्थापना भएको हो। बागमती प्रदेशका तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेलले कार्यालय उदघाटन गरेका थिए।
त्यतिवेला कार्यालय प्रमुख रहेका दाहाल सरुवा भएर दोलखा पुगेका थिए। फेरी सरुवा मिलाएर उनी यो कार्यालयमा आएका हुन।
Discussion about this post