काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग नाम जोडिएर विवादमा परेकी शोभा पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिहरूको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरको पुल्चोकबाट सोमबार पक्राउ गरेको हो ।
साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीकाअनुसार सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिको चरित्र हत्या गरेको उजुरी आएपछि उनलाई पक्राउ गरिएको हो ।
लामो समयदेखि निकट सम्बन्धमा रहेका महेश र शोभाबीचको विवाद अचेल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शोभामाथि विभिन्न व्यक्तिसँग मोलमोलाइ गरेर रकम मागेको आरोप पनि लाग्ने गरेको छ ।
शोभाले पूर्व उद्योगमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध यसअघि नै जिल्ला प्रहरी परिसर काठमाडौंमा जबरजस्ती करणसम्बन्धी जाहेरी पनि दिएकी थिइन् । बस्नेतले युवाहरू लगाएर आफूलाई अपार्टमेन्टमै आक्रमण गराएको आरोप उनले लगाउँदै आएकी थिइन् ।
पाठकले बस्नेतविरुद्ध ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी पनि दिइन् । उक्त प्रकरणमा प्रमाण नपुग्ने भन्दै प्रहरीले उनको उजुरीलाई तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो ।
Discussion about this post