काठमाडौ । दोलखाको मेलुङ गाउँपालिकाका एक युवकको हत्या अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शैलुङ गाउँपालिका-८, घर भएका २६ वार्षिय सुजन उप्रेती र काभ्रे बेथानचोकका तिर्थराज तिमल्सिना रहेका छन् ।
यहि भदौ १२ गते बिहान ८:२५ बजेतिर बेथानचोक गाउँपालिका-२ ढोलखोलामा दोलखाको मेलुङ गाउँपालिका-१ घर भई हाल पेप्सिकोला बस्ने वर्ष २८ को निर्मल बुढाथोकी मृत फेला परेका थिए । हत्या भएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार, प्रहरीले सुजनलाई काठमाडौंको ढल्कुबाट पक्राउ गरेको हो । उनीहरु दुईजना साथी रहेको प्रहरीले जनाएको छ ।
बोहोराका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धानपछि निर्मल र सुजन लागूऔषध एवं गाँजा खरिद गर्नका लागि बेथानचोक गएको र बेथानचोकस्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको खुलेको छ ।
त्यसपछि प्रहरीको टोलीले उक्त स्थानमा तत्काल खानतलासी गर्दा तिर्थराजको घरको कोठाबाट सुजन उप्रेतीको झोला, पासपोर्टसहित प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९.७७ किलोग्राम फेला परेको थियो । त्यसलगत्तै प्रहरीले घरधनी तिर्थराजलाई पनि नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट अनुमति लिई थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । निर्मलको हत्यामा संलग्न देखिएका सुजनलाई ज्यानसम्बन्धी कसुर मुद्दामा पाँच दिन म्याद थप गरिएको र तिर्थराजलाई लागूऔषध मुद्दामा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।
काभ्रेपलाञ्चोकको ढुङखर्कमा दोलखाका पवटीका एक पुरुषको शंकास्पद मृत्यु
Discussion about this post