रामेछाप । टिपरमा आगजनी गर्ने रामेछापका दुई जना सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बीमाको रकम लिन आफ्नै टिपरमा आगजनी गर्ने रामेछाप घर भई काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ३४ वर्षीय प्रदिपकुमार खत्री,टीकाथली बस्ने ३३ वर्षीय भिमसेन खत्री र सिन्धुली घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने रंगबहादुर बुढाक्षेत्री लाई पक्राउ गरेको हो।
प्रदीपकुमार खत्रीले १३ महिना अगाडि बा ३ ख २८९४ नम्बरको टिपर मासिक किस्ता १३ दाख रुपैयाँ तिर्ने गरी खरिद गरेका थिए। उनका भाइ भिमसेन खत्रीले उक्त टिपर चलाउने गर्थे। तर चार महिना अगाडि गोदावरी नगरपालिका–(१२ ठेंचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बिग्रिएर थन्किएको थियो।
मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि उनीहरूले टिपरमा आगो लगाएर बीमा रकम प्राप्त गर्ने योजना बनाएका थिए। योजनाअनुसार साउन १२ गते राति सवा १ बजे पेट्रोल छर्केर आगो लगाएका थिए। त्यही दिन दिउँसो प्रहरी वृत्त चापागाउँमा आगो लगाउने व्यक्तिहरूको खोजी गरी कारबाही गर्न माग गर्दै प्रदीपकुमार पुगेका थिए। उनले निवेदन दिँदा बीमा रकमका लागि आवश्यक सिफारिस गर्न भनेका थिए।
प्रहरीलाई शका लागेपछि अनुसन्धान अघि बढाउँदा बीमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरेको खुलेको हो। उनीहरूमाथि आपराधिक उपद्रव कसुरमा ललितपुर जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ।
Discussion about this post