रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको एक युवक सहित पाँच जना पक्राउ परेका छन । राजधानीमा मर्निङ वाक हिँडेका महिलालाई टार्गेट गरेर श्रृंखलाबद्ध रुपमा सुनका सिक्रि लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा लिखु तामाकोशी गाउँपालिका वडा नं-१ दुरागाउँको वर्ष ३२ को रबिन दमाईलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाटमा संलग्न समुहका अन्य चारजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का उमेश क्षेत्री, सुनसरीका रवि विश्वकर्मा, धनकुटाका राहुल माझि र भारतीय नागरिक श्रीकान्त माईती रहेका छन् ।
प्रहरीका अनुसार रामेछापका रविन दमाई मर्निङ वाकमा हिँडेका महिलाले गलामा लगाएका सुनका सिक्रि लुट्ने र विश्वकर्मा मोटरसाइकल चलाउने कार्यमा संलग्न व्यक्ति हुन् ।
यस्तै, भारतीय नागरिक माईतीले लुटपाट गरेको सुन खरिद गरेका थिए भने अन्य दुई जना सुन पगाल्ने भुमिकामा रहेको खुलेको उपत्यका अपराधन अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा.मनोज केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुले न्युरोडको जनसेवा मार्ग, चक्रपथको बंगलामुखी मन्दिर, सामाखुसीको कपुरधारा लगायतका विभिन्न ८ स्थानबाट सिक्रि लुटपाट गरेको पाइएको छ । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post