काठमाण्डौ । राहदानी विभागले ६६ पृष्ठको साधारण राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार तीन गतेदेखि पाँच हजार रुपैयाँ मै ६६ पृष्ठको राहदानी बनाउन सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो।
उहाँका अनुसार अब जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट ६६ पृष्ठको राहदानी बनाउँदा पनि पाँच हजार रुपैयाँ मात्र दस्तुर लाग्ने छ। यसअघि भने १० हजार रुपैयाँ लाग्ने गरेको थियो। ३४ पृष्ठको राहदानी बनाउँदा पनि दस्तुर पाँच हजार नै लाग्ने छ।
राहदानी कि त ३४ पृष्ठ र कि त ६६ पृष्ठको जारी हुन्छ। आफ्नो आवश्यकता अनुसार राहदानीको आवेदन दिँदा कति पृष्ठको बनाउने हो त्यो छनौट गर्न पाइन्छ। यसअघि भने पृष्ठ अनुसार लाग्ने दस्तुर फरक थियो। अब भने एउटै दस्तुरमा दुवै पृष्ठको राहदानी जारी हुन्छ।
काठमाण्डौमा रहेको राहदानी विभागबाट तत्काल राहदानी लिँदा भने १२ हजार रुपैयाँ दस्तुर लाग्छ। विभागबाट राहदानी बनाउँदा कम्तीमा तीन दिनभित्र हात पर्छ भने जिल्लाबाट बनाउँदा १० देखि १५ दिनमा राहदानी बनेर जिल्ला पुगिसक्ने विभागले जनाएको छ। विदेशमा रहेका नेपाली दूतावासबाट राहदानी बनाउँदा भने देशगत रूपमा दस्तुरमा केही तलमाथि हुन सक्छ।
Discussion about this post