काठमाडौं । नेपाली कांग्रेसको रामेछाप जिल्ला सम्मेलनअघि प्रतिनिधि सभा सदस्य तथा जिल्ला सभापति कान्छाराम तामाङलाई विधि बमोजिम चल्न आवश्यक निर्देशन माग्दै करिब ४ दर्जन नेताले केन्द्रीय सभापति शेरबहादुर देउवालाई ११ बुँदे ध्यानाकर्षण बुझाएका छन् ।
जेठ ३१ गते जिल्ला सम्मेलन हुने भनेर सामाजिक सञ्जालमा आएको भन्दै उनीहरूले जिल्ला सभापति कान्छारामले गरेका पार्टी हितविपरीतका गतिविधिहरूबारे केन्द्रलाई लिखित जानकारी गराएका हुन् ।
पूर्व जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्कासहित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू भरत चौलागाई,युवराज भट्टराई, बिनिता खड्का, मीना कार्की,रामकुमारी डाँगी,कुमारी हायुलगायत ४६ जनाले हस्ताक्षर गरेका छन् ।
उनीहरूले गत वर्ष स्थानीय निर्वाचनमा संसदीय बोर्ड गठन नगरी र मापदण्ड नबनाई आर्थिक लाभ लिएर टिकट वितरण गरेको,गठबन्धन गर्न नमानेर पार्टीलाई क्षति पुर्याए, जिल्ला अधिवेशन नै वैधानिक नभएको,फरक मत राख्नेहरूमाथि सार्वजनिक गालीगलौज र पदमुक्त गरिएको लगायतका आरोप लगाएका छन् ।
ठेकेदार समेत रहेका कान्छारामले जिम्मा लिएका पुल सडकलगायत जिल्लाका विकास निर्माणको काम वर्षौँ बितिसक्दा पनि योजना अलपत्र पारेर अन्य पार्टीका मान्छेले कांग्रेसमाथि आरोप लगाउँदा निरुत्तर हुनुपरेको उल्लेख छ ।
ती नेताहरूले यो गतिविधिमाथि केन्द्रले अङ्कुश नलगाउँदा अवैधानिक जिल्ला सम्मेलनमा सहभागी नहुने बताएका छन् ।
Discussion about this post