रामेछाप । रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) लाई कारबाही गर्ने ओखलढुंगाका सांसद रामहरि खतिवडाले चेतावनी दिएका छन् ।
हिमालय माध्यमिक विद्यालय निशंखे ओखलढुंगाको ५६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै खतिवडाले ओखलढुंगा–निशंखे सडकको काम ठेक्का लिएर अलपत्र पारेको भन्दै खतिवडाले समयमा गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कारबाही हुनु पर्ने बताउनु भयो ।
खतिवडाले निर्माण व्यवसायीले समयमा काम नगर्दा जिल्लाको विकास प्रभावित भएको र जनप्रतिनिधि प्रति असन्तुष्टि बढेको बताउनुभयो । काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याएर छाड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सो सडक निर्माणको जिम्मा नेपाली कांग्रेस रामेछापका सभापति तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामको कान्छाराम कन्स्ट्रक्सनले लिएको छ ।
‘कान्छाराम हुन् कि जेठाराम हुन् काम नगर्ने ठेकेदारलाई कारबाही हुन्छ ।’ खतिवडाले भने, ‘यहाँको सडक समयमा नबनाउने ठेकेदारलाई संरक्षण गरेको भनेर रामहरि खतिवडा मुर्दावाद भनेको पनि सुनें तर मैले कुनै ठेकेदारलाई राजनीतिक संरक्षण गरेको छैन ।’ आफु ठेकेदार संरक्षणमा नभई कारबाहीको पक्षमा रहेको उल्लेख गर्दै यसबारे आफुले सदनमा र पार्टीमा जोडदार आवाज उठाउने प्रतिवद्धता जनाए ।
सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पार्ने ठेकेदार तथा कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध केहीदिन अघि स्थानीयले आन्दोलन गरेका थिए । ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ काम अलपत्र पार्ने ठेकेदार तामाङविरुद्ध स्थानीयले आन्दोलन थालेका हुन् ।
सांसद तामाङले ठेक्का लिएको ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र छ । कान्छाराम कन्सट्रक्सनले एक वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित २०७६ पुस ९ गते ठेक्का लिएको थियो ।
१२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लागेको थियो । पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न भएको छैन ।
Discussion about this post