मोटरसाइकल चोरीको आरोपमा रामेछापमा प्रहरी जवान पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापको सवारी चालकको रुपमा कार्यरत प्रहरी जवान उपेन्द्रप्रसाद भण्डारी चोरीको अभियोगमा सोमबार पक्राउ परेका छन् । प्रहरी आफैं चोरी कार्यमा संलग्न रहेको र गलत कार्य गर्ने प्रहरीलाई कानुनी दायरामा ल्याएको रामेछापमा यो पहिलोपटक हो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेकै बेला मन्थलीबाट उनले पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेको तथ्य सीसीक्यामेराको फुटेजमा देखिएको आधारमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीका अनुसार भण्डारीलाई थप अनुसन्धानका लागि रामेछाप जिल्ला अदालतबाट थुनामा राख्ने म्याद थप गरिएको हो ।

मन्थलीका रमेश नेपालीको वैशाख १ गते मन्थली बजारमा पार्किङमा राखेको वाग्मती प्रदेश ०२–०२८ प ०९०७ नम्बरको मोटरसाइकल चोरी भएको थियो । नेपालीले चोरी भएको मोटरसाइकल खोजी गरिदिन प्रहरी गुहारेका थिए ।

प्रहरीले नेपालीको निवेदन परेपछि आफ्नो कार्यालयमा रहेको सिसीक्यामेराको मोनिटरको अध्ययन थालेको थियो । प्रहरी नायव उपरीक्षक पराजुलीका अनुसार प्रहरी जवानले मोटरसाइकल चोरी गरेको देखिएपछि भण्डारीलाई सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा भण्डारीले मोटरसाइकल चोरी गरेको र उक्त मोटरसाइकलका सामान आफ्नो कोठामा रहेको स्वीकार गरेका थिए ।

भण्डारीले चोरी गरेको मोटरसाइकलबाट विभिन्न सरसामान झिकेर बेग्ला–बेग्लै बनाई वर्कसपमा लैजाने तयारी गरेको अवस्थामा कोठामा फेला परेका थिए । प्रहरीले उक्त सामग्रीसमेत बरामद गरेको छ । मन्थलीमा यसअघि पनि मोटरसाइकल चोरीका घटना हुने गरेका थिए ।

एक महिनाअघि मात्र मन्थलीको गडुवारीबाट हराएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयको नजिकै फेला परेको थियो । उक्त घटनामा समेत भण्डारीको संलग्नता रहेको आशंका गर्न थालिएको छ । प्रहरीले अन्य चोरीका घटनाका सम्बन्धमा समेत अनुसन्धान गर्ने जनाइएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading