रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ मा श्रीमानले श्रीमतीलाई एकल महिला भत्ता दिलाएका छन् । मन्थली नगरपालिका वडा नं ३ बस्ने रामबाबु खत्रीले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर श्रीमती निर्मला खत्रीलाई झन्डै १२ महिनाको एकल महिला भत्ता खुवाएको तथ्य फेला परेको छ।
खत्री केही समय अघि जिल्ला प्रशासन कार्यालय र त्यसपछि सरुवा भएर जिल्ला कारागार रामेछापमा कार्यरत थिए। श्रीमतीलाई भत्ता खुवाएको पत्ता लागेपछि कारबाही हुने डरले खत्रीले जिल्ला कारागार सरुवा भएका थिए।
त्यसको केही समयमै उनले जागिरबाट राजीनामा दिए। कारबाहीको डरले चाँडै राजीनामा दिएको हुनसक्ने जानकारहरू बताउँछन्। तत्कालीन वडा सचिव शिवकुमार महतोले २०७८ साल भदौ २१ गते नै बिधुवा भत्ताको परिचयपत्र सोही दिनदेखि लागू हुनेगरि बनाइदिएका थिए।
तर महतोले निर्मलालाई बनाएको परिचय पत्रमा बुबा आमाको मात्र नाम खुलाएका छन् भने पतिको नाम खुलाएका छैनन्। मन्थली नगरपालिकाबाट प्राप्त सुचना अनुसार निर्मलाले २०७९ माघ सम्ममा १५ महिनाको सामाजिक सुरक्षा भत्ता बुझेकी छन्। निर्मलाका पति जीवितै रहेको र उनले पतिको मृत्यु पर्यन्त पाउने भत्ता लिइरहेको तथ्य बाहिरिएको हो।
तत्कालीन वडा सचिव महतोद्वारा हस्ताक्षरित प्रमाणपत्रका आधारमा हेर्दा निर्मलाले मासिक २ हजार ६६० रुपैयाँका दरले १५ महिनामा ३९ हजार ९ सय रुपैयाँ बुझेकी छन् । यो विषयमा मन्थली नगरपालिका सँग सोध्दा विगतमा भत्ता लिएको र पतिको मृत्यु नभएको जानकारी पाएपछि रोकेको जनाएको छ ।
Discussion about this post