काठमाडौँ । चितवनको नारायणी डेभलपमेन्ट बैंकको पूर्व ब्रान्च मेनेजर सिर्जना खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।
नारायणी डेभलपमेन्ट बैंकको भरतपुर ब्रान्चको मेनेजर पदबाट राजीनामा दिएकी खड्का काठमाडौँको कोटेश्वरबाट पक्राउ परेकी हुन् । खड्काले लक्ष्मण थापा क्षेत्रीलाई दिएको ३३ लाखको चेक बाउन्स भएको छ । भरतपुर महानगरपालिका स्थायी बसोबास भएका बैंकका सेवाग्राहीसँग बहाना बनाएर खड्काले रकम लिएको पीडितले बताए ।
भरतपुर ब्रान्चको मेनेजर खड्काले रकम ठगेको घटना बाहिरिएसँगै बैंकबाट राजीनामा दिएकी थिइन् । अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति जारी भएसँगै राजीनामा दिएर उनी फरार भएकी हुन् । महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भएकी खड्काले बैंकमा कारोबार गर्दै आएका लक्ष्मण थापा क्षेत्रीसँग २०७९ मंसिर २५ मा ३३ लाख लिइन् ।
भाइलाई अष्ट्रेलिया पठाउन ‘एक दिनका लागी स्टेटमेन्ट देखाउनु पर्ने भो’ भनेर आफूसँग ३३ लाख नगद लिएको पीडित क्षेत्रीले रातोपाटीलाई बताए । आफ्नो श्रीमान् विदेश भएको हुनाले तत्काल पैसा मगाउन समय लाग्ने कारण देखाएर उनले क्षेत्रीसँग पैसा मागिन् । पैसा लिएपछि उनी फरार भइन् ।
‘बैंक मेनेजरको विश्वासमा परेर मैले २०७९ मंसिर २५ मा ३३ लाख उहाँकै खातामा डिपोजिट गरिदिएको थिएँ’ क्षेत्रीले भने–‘बैंकबाट ऋण मिलाउन सहयोग गर्छु भनेर पैसा लिएपछि उहाँ सम्पर्क विहीन हुनुभयो ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ । उच्च अदालत पाटनले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । बैंक स्रोतका अनुसार २०७९ पुस ३ मा ३१ वर्षीया खड्काले बैंकबाट राजीनामा दिएकी हुन् । पुस २५ मा उच्च अदालत पाटनले उनीविरुद्धपक्राउ पुर्जी जारी गरेको थियो ।
Discussion about this post