काठमाडौ । पोखरामा आज बिहान भएको यति एअरलाइन्सको विमान दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक ( एसपी ) अजय के.सी.ले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए । ‘खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरू खोजी गर्नेछौँ’, प्रमुख के.सी.ले भने ।
दुर्घटनामा परि ज्यान गुमाएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ । ‘अब बेपत्ता ४ जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमवार पनि खोजी कार्यलाई तीव्र पार्छौँ’, उनले भने । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन् ।
नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् । प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन् । काठमाण्डौबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर के.सी.ले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको जानकारी दिए । ‘सबै जनाको शव आज नै निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो’, प्रजिअ के.सी.ले भने । मृतकका परिवारलाई सोमबार शव बुझाउने तयारी रहेको पनि उनले जानकारी दिए ।
त्यसैगरी, यति एअरलाइन्सकाे विमानमा सवार यात्रुका आफन्तका लागि नागरिक उड्डयन प्राधिकरणले निःशुल्क बासकाे व्यवस्था गरेकाे छ । प्राधिकरणले ट्वीट गर्दै विमानमा सवार यात्रुका आफन्तका लागि गण्डकी अस्पताल नजिकै रहेकाे हाेटल लेकालीमा बास बस्ने व्यवस्था गरेकाे जनाएकाे छ ।
Discussion about this post