काठमाडौ । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बने लगत्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पत्राचार गर्ने निर्णय गरेका हुन्।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पुस १३ गते मन्त्रालयलाई पठाएको पत्रमा ‘थापाथलीको संरचना हटाई सौन्दर्यकरणको कार्य तत्काल शुरू गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ’ भनिएको छ।
महानगरले गत महीना थापाथलीमा डोजर चलाउन खोज्दा चौतर्फी विरोध भएको थियो। त्यतिवेला पछि हटेको महानगरले संघमा नयाँ सरकार गठन भएसँगै सुकुम्बासी हटाउने कार्यलाई अभियानकै रुपमा अघि बढाउने निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत बोधार्थ दिइएको पत्रमा भनिएको छ, “थापाथलीस्थित बागमती नदी किनारमा अव्यस्थित अनधिकृत रुपमा रहेका संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परियोजना समेतबाट अनुरोध भई आएको र सो क्षेत्र खाली गराउन महनगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएता पनि सो सफल हुन सकेको अवस्था छैन।”
Discussion about this post