देशभरका थप २० ठाउँमा बुथ कब्जा भएको एमालेको निष्कर्ष, पुनः मतदानको माग गर्दै आयोगलाई बुझायो १० बुँदे ध्यानाकर्षण–पत्र

रामेछाप अनलाइन रेडियो

काठमाडौ । नेकपा एमालेले मंसिर ४ गते सम्पन्न निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगलाई १० बुँदे ध्यानाकर्षण गराएको छ । विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा मतदानका क्रममा अनियमितता र बुथ कब्जा भएको भन्दै एमालेले ती क्षेत्रमा पुनः मतदान गराउन आयोगको ध्यानाकर्षण गराएको छ ।

एमालेले देशका थप २० स्थानमा बुथ कब्जा भएको निष्कर्षसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । एमाले महासचिव शंकर पोखरेलले आज सोमबार निर्वाचन आयोगलाई एक पत्र पठाउँदै देशका थप २० मतदान केन्द्रमा बुथ कब्जा भएकाले पुनः मतदान गर्न माग गरेको हो ।

यसअघि निर्वाचन आयोगले दोलखाका १० स्थानमा पुनः मतदान गर्ने निर्णय गरेका बाहेक थप २० ठाउँमा पनि सत्ता गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेको एमालेको निष्कर्ष छ । महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरुलाई भेटी सुनसरी–४ को मतगणना तत्काल अघि बढाउन पनि आग्रह गरेको छ ।

एमालेले पत्रमा मतगणनामा निर्वाचन क्षेत्र अनुसार मत बदर र सदर सम्बन्धमा फरक–फरक मापदण्ड अपनाउने, निर्वाचित भएको व्यक्तिलाई कसैलाई प्रमाणपत्र तत्काल लिने र कसैलाई नदिई राख्ने कार्य पूर्णतः कानून प्रतिकुल रहेको पनि उल्लेख गरेको छ ।

पार्टीका उम्मेदवार बसन्त नेम्वाङलाई पाँचथरमा निर्वाचित भएको प्रमाणपत्र नदिई रोक्ने कुराले सत्ता गठबन्धन धाँधली गर्ने तयारीमा लागेको छ भन्ने आशंका सिर्जना भएको एमालेको दाबी छ । यस्तै प्रत्यक्षतर्फ र समानुपातिकमा प्रत्येक निर्वाचन क्षेत्रबाट प्राप्त समानुपातिकतर्फको मतहरु उपलब्ध गराई कूल योगफल मिले–नमिलेको हेर्न सकिने गरी पारदर्शिता अपनाउने व्यवस्था मिलाउन पनि एमालेले आयोगलाई आग्रह गरेको छ ।

हेर्नुस् एमालेले आयोगलाई बुझाएको १० बुँदे ध्यानाकर्षण–पत्र

श्री निर्वाचन आयोग
कान्तिपथ, काठमाडौँ ।

विषयः अनियमितता र बुथ कब्जा भएको स्थानमा पुनः मतदान गर्ने सम्बन्धमा ।

१. प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको क्रममा २०७९ मङ्सिर ४ गते बाजुरा, स्याङ्जा र दोलखा जिल्लामा बुथ कब्जा भएको सम्बन्धमा सोही दिनमा नै नेकपा (एमाले) का उम्मेदवारहरुले निर्वाचन अधिकृत तथा निर्वाचन आयोगसमक्ष पुनः मतदानका लागि निवेदन दिएका थिए । आयोगबाट समेत प्रारम्भिक रुपमा निवेदनमा उल्लेख भएको स्थानमा बुथ कब्जा र अनियमितता भएको भन्ने प्रारम्भिक तथ्यबाट देखिएको हुँदा नै आयोगबाट कर्मचारी खटाई स्थलगत प्रतिवेदन प्राप्त गर्नेक्रममा रहेको स्पष्ट देखिन्छ ।

२. यसक्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरु कालिञ्चोक १ नं बेगुम्पा मतदान केन्द्र क र ख, शैलुङ्ग गाउँपालिका वडा नं २ भुसाफेदा नविन मावि मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश गरिनु पर्दछ ।

३. यसरी नै स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नं ३ दिसिङ्गकोट आधारभुत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मा.वि. दार्सिङ्ग नरसेवा र ऐ को वडा नं ५ जनसक्रिय आधारभुत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभुत विद्यालय साटीमुरेका सबै मतदान केन्द्रमा बुथकव्जा भएको, मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट मतदान भएको कारण स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्दछ ।

४. यसरी नै बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ को त्रिभुवनेश्वरी मा.वि. मतदान केन्द्र, ऐ को वडा नं ३ को मष्टेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ७ को नाटेश्वरी आधारभुत विद्यालय, ऐ वडा नं ८ को नवदुर्गा आधारभुत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा नं २ को मालिका मा।वि। मतदान केन्द्र, ऐ वडा नं ४ को खापरदेवस्थली मा।वि।, बुढीगंगा नगरपालिका वडा नं ७ शारदा मा।वि। मतदान केन्द्र, ऐको वडा नं ४ थमा मा।वि मतदान केन्द्र, ऐ वडा नं ८ को गिरिखेल्ने आधारभुत विद्यालय मतदान केन्द्र, बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्र, ऐ को वडा नं. ७ को घटाल आधारभुत विद्यालय, ऐ को वडा नं ९ को हिमाली आधारभुत विद्यालय र हिमाली गाउँपालिका वडा नं ५ को बागेश्वरी आधारभुत विद्यालय र ऐ को वडा नं ६ को बढीमालिका मा.वि. मतदान केन्द्रमा बुथ कब्जा गरेको, एमालेका प्रतिनिधिलाई कुटपिट गरी हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्षमा तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निस्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा ती मतदान केन्द्रमा पुनः मतदानको आदेश हुनु पर्दछ ।

५. उदयपुर क्षेत्र नं. १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनाका क्रममा फेला परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेकोले ती स्थानमा समेत पुनः मतदानको व्यवस्था गरियोस् ।
६. सुनसरी–४ को मतगणना क्रममा बहालवाला मन्त्री (उम्मेदवार) को दवावमा स्थगित मतगणना स्थगित गरिएको छ । मतगणना पुनः सुरु गरियोस् ।

७. धनुषा क्षेत्र नं. २ मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएकोले त्यसमा पुनः मत गणना गरिनुपर्ने ।

८. काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं. १ को ख मा प्रदेशसभाको मतगणना गर्दा सदर हुनुपर्ने मतलाई गणना नगरिएको हुँदा पुनः मत गणना गरिनु पर्ने ।

९. निर्वाचनमा मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्दछ । एउटाको मत अर्को व्यक्तिले आफुखुशी खसाउने, मृत्यु भएका, विदेशमा रहेका र निर्वाचनमा जिल्ला बाहिर खटिएको व्यक्तिले मतदान गरेको वा बुथ कब्जा भएको अवस्थामा पुनः शान्ती सुरक्षाको व्यवस्था मिलाई मतदान गर्नु÷गराउनु निर्वाचन आयोगको कर्तव्य हो । निर्वाचन आयोगले आफ्नो कर्तव्यबाट च्युत भई सत्ता गठबन्धनको उम्मेदवारको पक्षपोषण नगरी पुनः मतदानको आदेश गर्न र तदअनुरुप नै मतदान सम्पन्न गराउन अनुरोध गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!