काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई भोलि (मंगलबार) बयानका लागि काठमाडौं ल्याइने भएको छ ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको समेत रकम अपचलन गरेको आरोप छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार लामिछानेलाई मंगलबार जहाजमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो । सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा रवि कास्की प्रहरीको हिरासतमा छन् ।
आइतबार मात्रै कास्की जिल्ला अदालतले रविलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा रविविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । रवि जोडिएको गोर्खा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४८० रूपैयाँ पेश्कीबापत गएको देखिन्छ ।
त्यति मात्रै होइन, स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुई पटक ऋण लिएको देखिन्छ । उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’ बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रूपैयाँ चुक्ता गर्न बाँकी छ ।
त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रूपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । रविलाई यसअघि भैरहवा लगेर बयान लगिएको थियो । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
Discussion about this post