काठमाडौं । विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले सेलिब्रिटी, संस्था र कार्यालयहरूका फलोअर लुकाएको छ । फेसबुक पेजबाट फलोअरको सङ्ख्या देखाउने अप्सन गायब भएपछि प्रयोगकर्ताले अनेक शंका र प्रश्न गर्न थालेका छन् ।
बुधबार बिहानदेखि नेपाल मात्रै होइन विश्वभर नै फेसबुक पेजको सुरुमै देखिने फलोअरको सङ्ख्या हेर्ने अप्सन हराएको हो । नेपालबाट हेर्दा राजनीतिज्ञ, कलाकार र कार्यालयसहित सबैको फेसबुक पेजबाट फलोअर देखाउने स्थान गायब भएको छ।
तर फेसबुकको सर्च बारमा गएर कुनै नेता या सेलिब्रिटीको नाम टाइप गरेर सम्बन्धित प्रोफाइलमा नछिर्दा भने फलोअरको संख्या हेर्न सकिन्छ ।
पछिल्लो समय नेपालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा फलो गर्नेको संख्या उछिनपाछिन भइरहेको थियो ।
प्रविधिसम्बद्धहरूले भने यसलाई फेसबुकको ‘ग्लिच’ भएको हुन सक्ने आशंका गरेका छन् । तर, ओलीका भन्दा प्रचण्डका धेरै फलोअर बढाउने अभियान चलाएकाहरूले भने यो सरकारको कदम भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले प्रचण्डले फलोअरमा ओलीलाई उछिनेसँगै सरकारले फेसबुकका प्रतिनिधिलाई निर्देशन दिएर हटाउन लगाएको चर्चासमेत सामाजिक सञ्जालमा चलाएका छन् ।
अहिले प्रधानमन्त्री ओलीलाई फेसबुक पेजमा फलो गर्नेको संख्या ६ लाख १० हजार छ । उता प्रचण्डलाई पछ्याउनेको संख्या भने ६ लाख १८ हजार पुगिसकेको छ ।
Discussion about this post